नेपालको नयाँ मोडमा कस्तो युवा अघि आउनु पर्छ?

नेपालको नयाँ मोडमा कस्तो युवा अघि आउनु पर्छ?

नेपालको राजनीति फेरि एकपटक निर्णायक चरणमा पुगेको छ। संसद विघटन, अन्तरिम सरकारको गठन र आगामी फागुन २१ गते तोकिएको आम निर्वाचनले मुलुकलाई नयाँ मोडमा पुर्याएको छ। देशभरि एउटै स्वर सुनिन्छ,नेतृत्वमा अब युवाले आउनैपर्छ। तर प्रश्न के हो भने, कस्तो युवाले नेतृत्व गर्ने ? मुलुकलाई सही दिशामा डोर्याउन कस्तो युवाले नेतृत्व लिनुपर्छ भन्ने विषयमा अहिले गम्भीर बहस आवश्यक देखिन्छ। हरेक निर्वाचन क्षेत्रमा यो वहस गर्नु अपरिहार्य छ।

अब आउनुहोस्, छलफल गरौं अबको नेतृत्व कस्तो हुनुपर्छ भनेर । सामान्य अर्थमा भन्दा नेतृत्व सामुन्ने भएको काम पूरा गर्न सक्ने योग्यता भएको हुनुपर्दछ । सुन्दा सामान्य लागे पनि यो एकदमै गहन विषय हो । काम पूरा गर्न सक्ने मात्र हैन, प्रभावकारी र कुशलतापूर्वक गर्न सक्ने नेता इतिहासको आवश्यकता र आकस्मिकताले जन्मिन्छ ।
पृथ्वीनारायणको बेला लड्ने क्षमता चाहिन्थ्यो भने वीपी र पुष्पलालको बेला सोच्ने र निर्णय गर्ने क्षमता । अब लोकतन्त्रको जगमा बसेर सामाजिक असमानता कम गर्दै आर्थिक, सामाजिक समस्या हल गर्ने क्षमता भएको नेतृत्व आवश्यक छ ।
अबको नेतृत्व समाजको नेतृत्व गर्न ज्ञान–विज्ञान, कूटनीति र भू–राजनीति बुझ्नुपर्छ । समाजशास्त्र, मानवशास्त्र र अर्थशास्त्र बुझ्नुपर्छ । यी सबैलाई व्यवस्थापन गर्ने राजनीतिक प्रणाली पनि बुझ्नुपर्छ र उन्नत प्रणाली कस्तो हुन्छ भनेर सोच्न सक्ने हुनुपर्छ ।

राजनीति सकारात्मक परिवर्तनका लागि, जनता र जनजीविकाका सवालका लागि, सामाजिक न्यायसहितको समृद्धिका लागि, सामाजिक, आर्थिक रुपान्तरणका लागि गरिने प्रयत्न हो । राजनीति भनेको राज्यको सञ्चालन वा रेखदेख गर्ने सर्वोच्च नीति हो । राजनीतिमा विश्वासको संकट चुलिएको अवस्थामा जनताले अब शुद्ध र पारदर्शी नेतृत्व चाहेका छन्। भ्रष्टाचारमा मुछिएका पुराना अभ्यासले जनतामा निराशा जन्माइसकेको छ। त्यसैले यस्तो बेलामा स्वच्छ छवि बोकेका युवाले मात्र राजनीति पुनः विश्वसनीय बनाउन सक्छन्।
ठूलो माछाले सानो माछा नखाओस् भनेर कानून राख्ने, न्याय दिने, सुशासन कायम गर्ने काम राज्यले गर्न सक्नुपर्छ । राज्य र समाजको व्यवस्थापन, सञ्चालन, रक्षा र उन्नयनको निम्ति गरिने प्रयत्न हो । तत्काल समाजमा विद्यमान मुख्य अन्तरविरोध समस्या हल गर्ने साधन राजनीति हो । एक आयामिक हैन बहुआयामिक प्रक्रिया हो राजनीति । देश भेटाउने र छाम्ने माध्यम नै राजनीति हो ।त्यसैले बहुआयामिक ,सदाचार, पारदर्शिता, प्रभावकारिता, र जनअपेक्षा अनुसार काम गर्ने नेतृत्व अहिलेको आबस्यकता हो ।

देश बिकासको लागि अर्थतन्त्र ‘आधार’ र सामाजिक संस्था तथा ऐन, कानूनलाई सो आधारमा बनेका ‘उपरीसंरचना’ मानिन्छन। आर्थिक व्यवस्था त्यो जग हो, जसमा राजनीतिक व्यवस्था आधारित हुन्छ । आर्थिक व्यवस्था स्रोत साधनको बाँडफाँट, उत्पादन र वितरणसँग सम्बन्धित छ । यसको असन्तुलित वितरणले समाजमा वर्गको निर्माण गर्छ, अन्तर्विरोध उत्पन्न गराउँछ । यहि भाद्र २३ र २४ को आन्दोलन यहि असमान अर्थ व्यबस्थाको उपज हो भन्न सकिन्छ। राजनीतिले उत्पादन पद्धति, उत्पादनको साधनमा भएको स्वामित्व र उत्पादन सम्बन्ध (स्वामित्व र वितरण) मा परिवर्तन गरी समग्र मानव सभ्यतालाई विभेदरहित, वर्गरहित ढङ्गले विकास गर्ने प्रयत्न गर्छ । यसको भित्री संरचना आर्थिक व्यवस्था हो र उपरीसंरचना राजनीति हो । त्यसैले राजनीतिलाई अर्थव्यवस्थाको आँखाले हेरिनुपर्दछ । त्यसका साथै सङ्गठनात्मक सिद्धान्त पनि पर्दछन् ।

सांसदको टिकटदेखि निर्वाचनसम्म करोडौं खर्च हुने हुँदा भुइँमान्छेले सांसदमा उठ्न र जित्न सम्भव छैन । संसदीय निर्वाचनमा भोट हाल्ने दिनसम्म मात्र मतदाता शासक हुन्छ । त्यसपछि सांसद शासक हुन्छ ।त्यसैले राजनीतिक आस्थालाई धर्म जस्तो नबनाएर कस्तो आर्थिक प्रणाली अपनाउँदा देशको मुहार फेर्न सकिन्छ भन्ने दृष्टिकोणले हेर्नुपर्छ । एक देशमा सफल भएको आर्थिक प्रणाली अर्को देशमा असफल हुन पनि सक्छ । त्यसैले राजनीतिक सिद्धान्तमा माटो सुहाउँदो मौलिकता पनि आवश्यक पर्दछ । यसकारण समग्र राज्य संरचनामा सुधार गर्दै नेपाललाई सुन्दर भविष्यतर्फ डोर्याउने आधार तयार गर्न सक्ने क्षमतावान युवालाई नेतृत्व दिनुपर्छ।

हाम्रो नेपाललाई कस्तो अर्थ ब्यबस्था चाहिएको छ बुझ्ने नेतृत्व चाहिन्छ। विश्वमा तीन प्रकारको राजनीतिक अर्थतन्त्र रहेको छ– पूँजीवादी, समाजवादी र मिश्रित। अहिले नेपालमा मिश्रित अर्थब्यबस्था चलिरहेको छ। एक चोटी कुन अर्थ ब्यबस्था कस्तो हुन्छ बुझौ है त् – यदि तपाईंसँग दुईवटा गाई छ भने पूँजीवादले एउटा गाई बेच, साँढे किन र उत्पादन बढाऊ भन्छ । समाजवादले एउटा छिमेकीलाई देऊ, एउटा आफू पाल भन्छ । साम्यवादले दुवै सरकारलाई देऊ, घाँस हाल, चाहिने जति उपयोग गर भन्छ मिश्रीतले गाइको पुर्ण जिम्मेवारी आफै लेउ दुध चाहि अलि अलि सरकारलाई पनि देउ भन्छ । फाँसीवादमा दुवै सरकारलाई देऊ, प्रतिफल केही पाउँदैनौं, बकबक गरे गोली हानिदिन्छु भन्छ । अबको नेपाललाई कस्तो अर्थ ब्यबस्था चाहिन्छ त्यसको प्रस्ट खाका तयार गर्न सक्ने नेतृत्व चाहिन्छ।

यति छलफल गरिरहँदा हामीले यो पनि बुझ्नु जरूरी छ कि जति सिद्धान्तका गफ फलाके पनि व्यावहारिकतालाई पन्छाउन मिल्दैन । विकासका निम्ति परिस्थिति, धरातल र वातावरणको निर्माण नगरेसम्म केही हुनेवाला छैन । त्यसको लागि हामीले परिवर्तन तथा परिष्कार गर्नुपर्ने ७ बुँदा पेश गरेको छु । जसमा शासकीय स्वरूपमा परिवर्तन, सुदृढ कर्मचारीतन्त्र, राष्ट्रिय एकता, सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध, लगानी प्रवर्धनमुखी नीति, योजना र अनुगमन तथा मूल्याङ्कन र राजनीतिक स्थायित्व रहेका छन् । त्यसैले आफ्नो भूगोल बुझेको र जनताका समस्याहरु बुझ्ने सकारात्मक सोच सहितको उर्जाशील युवा नेतृत्व चाहिन्छ।

विष रोपेर अमृत फल्दैन भन्छन् । जब प्रणाली खराब हुन्छ, त्यसले बाईप्रोडक्टमा भ्रष्टाचार गर्छ । हाम्रो राजनीतिक प्रणाली एकदमै महँगो छ । खर्चिलो निर्वाचन पद्धतिले राजनीतिलाई व्यापारमा परिणत गर्न खोजेको देखिन्छ । राजनीति सुरु हुन्छ समाजसेवाबाट । त्यसमा आफ्नो खल्तीबाट केही लगानी गर्नुपर्छ, संसदीय प्रणालीमा हुने यही हो ।

सांसदको टिकटदेखि निर्वाचनसम्म करोडौं खर्च हुने हुँदा भुइँमान्छेले सांसदमा उठ्न र जित्न सम्भव छैन । संसदीय निर्वाचनमा भोट हाल्ने दिनसम्म मात्र मतदाता शासक हुन्छ । त्यसपछि सांसद शासक हुन्छ । त्यसैले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद आजको आवश्यकता हो । 
सांसदलाई कानून निर्माणमा मात्र लगाएर, विभिन्न विज्ञलाई कार्यपालिकामा जिम्मेवारी दिएमा भ्रष्टाचारको न्यूनीकरण र कार्यपालिकाको गुणस्तरमा एकैसाथ परिवर्तन गर्न सकिन्छ । स्थानीय निकायलाई सक्दो बलियो र पारदर्शी बनाउनु आवश्यक छ ।त्यसैले अहिले चुनाव जितेर जनताका आबस्यकता अनुसार दुरगामी सोच बनाएर नीति बनाउन अनुशासनमा बसेर खटिने युवा चाहिन्छ।

लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो। राजनीति, समाज र राज्य प्रणालीलाई सुधार गरेर हाम्रो लोकतन्त्रलाई अझ पारदर्शी, जवाफदेही र उच्च आचरणयुक्त बनाउन इतिहासले फेरि अर्को मौका दिएको छ। यस अवसरलाई उपयोग गर्ने जिम्मा आजको पुस्ता, विशेष गरी GenZ आन्दोलनमा आस्थावान युवाको काँधमा आएको छ। यस पुस्ताले भ्रस्टाचार मुक्त नेपालका लागि आफ्नो रगत र बलिदान दिएको छ।फेरी फेरी यहि मुद्दाहरुको सम्बोधनको लागि बलिदानी दिनु नपरोस भनेर पनि सक्षम युवाहरु बिदेसिएका भए पनि नेपाल फर्केर उमेदवारी दिनुपर्छ र अन्य युवाहरु तथा मतदाताहरुले साथ् दिनुपर्छ।

अब प्रत्येक निर्वाचन क्षेत्रबाट स्वच्छ छवि र इमानदार,शिक्षा र वैचारिक स्पष्टता भएको ,प्रगतिशील र समावेशी सोच,व्यावहारिक दृष्टिकोण,राष्ट्रिय हितप्रति प्रतिबद्धता,विधि र उद्यमशीलतालाई प्रोत्साहन गर्ने,सहकार्य र संवाद क्षमता भएको युवाहरूलाई अघि सार्नु अपरिहार्य छ। उम्मेदवारी दिने हिम्मत देखाउन सकेनौं भने फेरि उही पुरानै खेलाडीको हातमा सत्ता जानेछ र सुधारको अवसर गुम्नेछ। यसपटक पनि सुधार गर्न चुक्यौं भने, इतिहासले केवल शासकलाई होइन, सम्पूर्ण नेपाल र नेपालीलाई धिक्कार्नेछ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Follow by Email
YouTube