अप्टिकल काउन्टरबाट चस्माको कथा

चस्मा—आँखाको साथी, दृष्टिको सहारा हो। चस्माको यात्रा हजारौं वर्षअघिदेखि सुरु भएको हो। जब मानिसले पहिलोपटक दृष्टिमा समस्या अनुभव गर्‍यो, त्यसको समाधान खोज्न थाल्यो। इतिहास अनुसार, प्राचीन रोमन र ग्रीक सभ्यतामा पानीले भरिएको गिलास वा सिसाका टुक्रा प्रयोग गरेर वस्तुहरू ठूला देखाउने प्रयास गरिएको पाइन्छ।

चस्माको इतिहास हजारौं वर्ष पुरानो भए पनि लिखित प्रमाण अनुसार पहिलो अप्टिकल लेन्सको प्रयोग १३औं शताब्दी तिर इटालीमा भएको मानिन्छ। त्यो बेलाको चस्मा आजको तुलनामा निकै भारी र असजिलो भए पनि, दृष्टि सुधारतर्फको महत्वपूर्ण सुरुवात थियो। सन् १२८६ मा इटालीको पिसा शहरमा पहिलो रिडिङ्ग ग्लास विकास भएको मानिन्छ।

नेपालमा चस्माको इतिहास प्रस्ट रूपमा अभिलेखमा छैन, तर अनुमान गरिन्छ कि काठमाडौं, भक्तपुर, र ललितपुरजस्ता शहरहरूमा राणा शासनकालतिर चस्मा भित्रिएको हो। त्यो बेला विदेशी राजदूत, व्यापारी वा उच्च पदस्थ कर्मचारीहरूले चस्मा विदेशबाट ल्याउँथे।क्रमशः व्यापारिक विस्तारसँगै भारत हुँदै सस्तो चस्मा नेपाल भित्रन थाल्यो। सन् १९७४ मा नेपाल आँखा अस्पताल स्थापना भएपछि सर्वसाधारणले पनि चस्मा प्रयोग गर्न पाउने अवसर पाए। पछि नेपाल नेत्रज्योति संघ, तिलगंगा आँखा प्रतिष्ठान लगायतका संस्थाहरूले दुर्गम जिल्लाहरूमा सेवा विस्तार गरेपछि चस्मा नेपालभर सर्वसुलभ हुन थाल्यो।

आजको दिनमा, अप्टिकल काउन्टर केवल चस्मा बेच्ने ठाउँ होइन—यो आँखाको सल्लाह केन्द्र, आत्मविश्वास बढाउने थलो, र कहिलेकाहीँ त व्यक्तिगत कथा र भावना साट्ने स्थान पनि हो।

दैनिकजसो विभिन्न प्रकारका ग्राहकहरू आउँछन्। कोही चिकित्सकको सल्लाह लिएर, कोही फेसनका लागि, त कोही नजिक वा टाढा देख्न गाह्रो भएकाले आउँछन्। यस्ता ग्राहकहरूले प्रायः सोध्ने प्रश्नहरू यसप्रकार छन्:

“यो चस्मा मलाई सुहाउँछ कि सुहाउँदैन?”

“कति समय लगाउनुपर्छ?”

“सस्तो र टिकाउ कुन हो?”

“ब्लु रे कट लेन्स के हो?”

“चस्मा लगाएर पावर घटिहाल्छ कि?”

“अलि सस्तोमा मिलाइदिनु न! यति पैसा मात्र छ।”

“अब वृद्ध भत्ता आएपछि चस्मा लिन आउँछु है!”

यी प्रश्नहरू अब मेरो लागि सामान्य बनिसकेका छन्। तर यिनै कुराकानीहरूमा कहिलेकाहीँ यति आत्मीयता र विश्वास जाग्छ, जसले ग्राहकलाई मात्र होइन, मलाई पनि सन्तुष्टि दिन्छ।

कसैको पहिलो चस्मा बनाइदिनु केवल एउटा वस्तु दिनु होइन, उसलाई नयाँ संसार देख्न दिने अवसर हो। धेरै बालबालिका वा महिलाहरू चस्मा लगाउन लजाउँछन्—”लाज लाग्छ”, “कस्तो देखिन्छ?” भन्ने जस्ता कुरा गर्छन्। यिनलाई बुझाएर चस्मा लगाउन प्रेरित गर्नु एक किसिमको ‘काउन्सेलिङ’ हो।

वृद्ध ग्राहकहरू आँखाको कमजोरीका कारण जीवनमा धेरै समस्या भोगिरहेका हुन्छन्। कुनै आमा भन्नुहुन्छ, “दाल चामलमा स साना ढुङ्गा छुटाउन सक्दिन, श्रीमान्ले गाली गर्नुहुन्छ।” अर्की आमाले भन्नुहुन्छ, “सियो उन्दा देख्दै देख्दैन ।” जब म ती आँखाहरूमा चस्मा लगाइदिन्छु र उनीहरूको अनुहार उज्यालो देख्छु, त्यो क्षण मेरो लागि अदभुत हुन्छ।

यस्तै, एक विद्यार्थीले भनेको थियो—”चस्मा नभएर स्कुल जान सकिनँ।” त्यो सुन्दा मेरो आँखा रसायो। ती सबै अनुहारहरूमा फेरि उज्यालो ल्याउने मेरो सानो प्रयासले मलाई यो पेशाप्रति गर्व गर्न बाध्य बनाउँछ।

आजको समयमा चस्मा केवल दृष्टि सुधार गर्ने साधन मात्र होइन, यो व्यक्तित्व, फेसन, आत्मविश्वास र पहिचानको अभिन्न अङ्ग बनेको छ।

युवा पुस्ताले फेसन चस्मा खोज्दा म उनीहरूको अनुहारअनुसार मिल्ने फ्रेम, रंग, र स्टाइलको सुझाव दिन्छु। त्यो अनुभवले मलाई पनि ‘आँखा र फेसन’ बीचको सम्बन्ध बुझ्न सघाएको छ।

साँच्चै भन्नुपर्दा, सबैले अप्टिकल काउन्टर सम्हाल्न सक्दैनन्। यसमा धैर्यता, संवेदना, सल्लाह दिने सीप र सेवाको भावना चाहिन्छ।

“चस्माको कथा” हरेक आँखासँग जोडिएको कथा हो—धेरैले देख्न नपाएका सपना, र चस्मा लगाएर फेरि देख्न थालेको संसारको कथा।

र म, एउटा सामान्य अप्टिकल डिस्पेन्सर, ती कथाहरूको साक्षी हुन पाउनु मेरो लागि गर्वको कुरा हो।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Follow by Email
YouTube