एक मिलियन अमेरिकी डलर द्वारा डा.सन्दुक रुइत सम्मानित ।

नेत्र चिकित्सक सन्दुक रूइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् । आज बहराइनको राजधानी मनमामा आयोजित पुरस्कार घोषणा समारोहमा राजाका प्रतिनिधिको रूपमा उपस्थित राजपरिवारका सदस्य शेख मोहमद बिन मुबारक अल खालिफाले डाक्टर रुइतले अन्धोपन निवारणका लागि गरेको मानव कल्याणका लागि उनलाई इसा अवार्डका लागि छनोट गरिएको जानकारी दिएका हुन । कोभिडका कारण पछिल्लो चार वर्षपछि अहिले आएर मात्र इसा अवार्ड घोषणा गरिएको हो । यो अवार्डअन्तर्गत डा. रुइतलाई १० लाख अमेरिकी डलर, गोल्ड मेडल र प्रमाणपत्र आगामी फेब्रुअरी महिनामा प्रदान गरिनेछ । मंगलबार डा. रुइतका नाममा घोषणा भएको इसा अवार्ड अहिलेसम्म कुनै पनि नेपालीले प्राप्त गरेको सम्भवतः सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय अवार्ड भएको बताइएको छ । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार हरेक दुई वर्षमा संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ । अवार्डको पाँचौं संस्करण–सन् २०२३ मा डा. रुइतलाई उक्त पुरस्कार घोषणा गरिएको हो । एक सय ४५ जना मध्येवाट वैज्ञानिक, प्राध्यापक, पूर्वराजनीतिज्ञ लगायतका प्रतिष्ठित व्यक्तिहरूको छनोट समूहले उनीहरूमध्येबाट डा. रुइतलाई छनोट गरेको हो ।
डा.रुइतले यसअघि सन् २००६ मा मलेसियाको रोमन मागासेसे अवार्ड, सन् २००७ मा अर्डर अफ अष्ट्रेलिया र सन् २०१८ मा भो पद्यश्री अवार्ड पाएका छन् ।
डा. रुइतले आफ्ना सम्पुर्ण तिलगंगाका सहकर्मी तथा कर्मचारीहरुको मिहिनेतले यो अवार्ड पाउन सफल भएको भनेर अनलाइन मिटिङ्ग मार्फत सम्पुर्ण कर्मचारिहरुलाइ धन्यवाद तथा बधाइ पनि दिनुभएको छ।