प्रत्येक शनिबार चलिरहेको निशुल्क स्वास्थ्य सेवाको वार्षिक प्रतिवेदन कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखामा बुझाइयो।

कञ्चनरूप नगरपालिका वडा नं. १२ स्थित रूपनगर चोकमा २०८१ साल बैशाख १ गते शनिबारदेखि सञ्चालनमा आएको ‘एक निस्वार्थ अभियान: राष्ट्रको लागि दुई घन्टा योगदान’ कार्यक्रमको वार्षिक प्रतिवेदन आज औपचारिक रूपमा नगरपालिकाको स्वास्थ्य शाखामा बुझाइएको छ। कार्यक्रम संयोजक अनिल साउदका अनुसार, हरेक शनिबार बिहान ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने यो सेवाले वर्ष भरिमा २८ हप्ता सेवा प्रदान गरेको हो। सो अवधिमा जम्मा ८७९ जनाले सेवा लिएका छन्, जसमा ५९८ जना पुरुष र २८१ जना महिला सहभागी थिए। प्रदान गरिएका प्रमुख सेवाहरूमा रक्तचाप जाँच, मधुमेह (सुगर) जाँच, आँखाको दृष्टि परीक्षण, र सामान्य स्वास्थ्य परामर्श सेवा रहेका छन्। सेवाबाट प्राप्त स्वास्थ्य विश्लेषण गर्दा मधुमेहको मात्र औषधि सेवन गरिरहेका ८२ जना, उच्च रक्तचापको मात्र औषधि सेवन गरिरहेका ७९ जना, दुबै रोगको औषधि सेवन गरिरहेका ७८ जना, पहिलो पटक उच्च रक्तचाप पत्ता लागेका ८२ जना, र सुगरको मात्रा बढी भेटिएका ९९ जना थिए। यी मध्ये धेरै जसो सेवाग्राहीलाई कञ्चनरुप नगर अस्पतालमा थप परीक्षण र उपचारका लागि जान सल्लाह दिइएको छ भने दृष्टि परीक्षणमा समस्या देखिएका सेवाग्राहीहरू मध्ये एक जनाको मोतिबिन्दुको सफल शल्यक्रिया तिलगंगा आँखा शिविर मार्फत गरिएको छ भने अन्यलाई तिलगंगा कञ्चनरुप सर्जिकल आँखा केन्द्रमा थप जाँच गर्न सल्लाह दिइएको थियो ।

कार्यक्रममा सहभागी नातिबाबु बि.क. नाम गरेका एक ज्येष्ठ नागरिकले जीवनमा पहिलो पटक रक्तचाप जाँच गराउँदा उच्च देखिएको जानकारी पाएपछि हाल नियमित औषधि सेवन गरिरहेका छन्। यो प्रसङ्ग कार्यक्रमको प्रभावकारिता दर्शाउने सजिव उदाहरण बनेको छ। कार्यक्रम प्रति स्थानीय समाजले सकारात्मक प्रतिक्रिया दिएको छ। सप्तरी जिल्ला पत्रकार महासंघका सदस्य पत्रकार उत्तम आचार्य भन्नु हुन्छ, ‘यो अभियानले समुदायमा सेवा गर्न सकिन्छ, गर्नुपर्छ भन्ने भावना विकास गरेको छ। बाटोमा हिँड्ने यात्री, पाहुना र स्थानीयवासीहरूले कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्।’ कञ्चनरूप नगरपालिकाको स्वास्थ्य शाखाले प्रतिवेदन ग्रहण गर्दै कार्यक्रमको सफलताको प्रशंसा गरी यस्ता कार्यक्रमले स्थानीय जनस्वास्थ्य प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेको छ। कञ्चनरूप नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामसेवक यादवले यो अभियानलाई सकारात्मक रूपमा स्वागत गर्दै, यसले स्थानीय जनस्वास्थ्य प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको बताउनु भयो। यस्ता सेवा–केन्द्रित कार्यक्रमहरूले स्वस्थ्य समाज निर्माणमा दीर्घकालीन प्रभाव पार्ने विश्वास स्थानीयहरूले व्यक्त गरेका छन्। कार्यक्रम संयोजक अनिल साउदद्वारा तयार गरिएको सो प्रतिवेदनले निजी प्रयास मार्फत समाजलाई सेवा गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ। यसले स्वास्थ्य क्षेत्रमा सामुदायिक स्वास्थ्य अभियानको नयाँ ढोका खोलेको छ। रूपनगर नन्दराज संग्रौला क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेल, ‘देश बनाउने युवाहरूले आफू बसेको समाजमा आ-आफ्नो ठाउँमा सकेको योगदान गर्ने हो भने समुदायमा सकारात्मकता फैलिँदै समाज र देश विकासमा मद्दत मिल्नेछ’ भन्नु हुन्छ । युवा पुस्तालाई सुझाव दिँदै प्राध्यापक गजुरेल भन्नु हुन्छ, ‘सकारात्मक बाटोमा हिँडिरहेका जो–कोही देख्नुभयो भने सहयोग गरौं, हौसला दिऔं। यदि हामीले यस्ता सकारात्मक काममा संलग्न युवाहरूलाई हौसला दिन सक्यौं भने हरेक समाजमा अनिल जस्ता युवाहरू जन्मिनेछन्।’ संयोजक साउदले यो अभियान निरन्तर चलिरहने पनि जानकारी दिनुभएको छ।

वार्षिक प्रतिवेदन Photos:

Add a Comment

Your email address will not be published. Required fields are marked *

Follow by Email
YouTube