गर्मी मौसममा आँखाको सुरक्षा : एक आँखा स्वास्थ्यकर्मीको सल्लाह
✍️ अनिल साउद, आँखा स्वास्थ्यकर्मी (Eye Health Worker)

गर्मी मौसम सुरु भएसँगै धेरैजसो मानिसहरू छालाको हेरचाहतर्फ केन्द्रित हुन्छन्, तर यो मौसममा आँखाको सुरक्षा पनि उत्तिकै महत्वपूर्ण हुन्छ। म एक आँखा स्वास्थ्यकर्मीको हैसियतले भन्न चाहन्छु—गर्मीको समयमा आँखासँग सम्बन्धित समस्या लिएर आउने बिरामीको संख्या उल्लेख्य रूपमा बढ्दो छ।
धुलो, पसिना, उच्च तापक्रम र सूर्यको UV किरणजस्ता कारणले आँखामा जलन, संक्रमण, सुक्खापनदेखि लिएर गम्भीर समस्या जस्तै फोटोकेराटाइटिस र मोतिबिन्दु सम्म देखिन सक्छ।
त्यसैले, यहाँ म आफ्नो अनुभवका आधारमा गर्मीमा आँखाको हेरचाहका लागि आवश्यक सावधानीहरू लेख्न चाहन्छु:
१. सनग्लास प्रयोग गर्नुहोस्
UV किरणले आँखाको रेटिना, कोर्निया र लेन्समा असर पुर्याउन सक्छ।
त्यसैले घाममा निस्कँदा UV प्रोटेक्सन भएको गुणस्तरीय सधैं चस्मा प्रयोग गर्नुहोस्।
२. सफा पानीले आँखा धोइराख्नुहोस्
धुलो र पसिना आँखामा संक्रमण निम्त्याउने मुख्य कारण हुन्।
त्यसैले दिनमा कम्तीमा २–३ पटक चिसो पानीले आँखा सफा गर्नुहोस्।
३. फोहोर हातले आँखामा नछुनुहोस्
धेरैजसो बिरामीमा संक्रमणको मुख्य कारण हातको सफाइ नहुनु हो।
त्यसैले हात राम्ररी धुनुहोस् वा सेनिटाइज गर्नुहोस्। आँखा पोल्दा हातले मल्ने होइन, पानीले धुनु उपयुक्त हुन्छ।
४. आई ड्रप प्रयोग गर्दा सर्तक रहनुहोस्
गर्मीले आँखालाई सुख्खा बनाउँछ। डाक्टरको सल्लाहमा मात्र लुब्रिकेटिङ आई ड्रप प्रयोग गर्नुहोस्। कहिले काही आँखालाई गम्भीर असर गर्ने औसधि पनि आँखामा हालेर आएका बिरामी पनि भेटिन्छन यसकारण आफैँ मनलाग्दी ड्रप प्रयोग नगर्नुहोस् ।
५. स्विम गगल्स अनिवार्य प्रयोग गर्नुहोस।
गर्मीमा धेरै मानिसहरु पौडी खेल्न स्विमिङ्ग गर्न जाने गर्नुहुन्छ। स्विमिङ पूल वा पोखरीको पानीमा क्लोरीन तथा अन्य रसायन हुन्छन्, जसले आँखा बिगार्न सक्छ। त्यसैले पौडी खेल्दा स्विमिङ गगल्स प्रयोग गर्नुहोस्। तैरेपछि आँखालाई चिसो पानीले धुनुहोस्।
६. कन्झक्टिभाइटिस (आँखा रातो हुने रोग) बाट सजग रहनुहोस्
गर्मीमा यो समस्या निकै फैलिन्छ।आँखा रातो, पोल्ने, पानी आउने लक्षण देखिए तुरुन्तै आँखा विशेषज्ञको सल्लाह लिनुहोस्।अरूलाई सर्न नदिन सफा टिस्यु वा रुमाल मात्र प्रयोग गर्नुहोस्।
७. पर्याप्त पानी पिउनुहोस्
शरीर डिहाइड्रेट हुँदा आँखामा पनि सुक्खापन आउँछ।
त्यसैले दिनमा कम्तीमा ८–१० गिलास पानी पिउनुहोस्। यसले आँखाको ओसिलोपनको सन्तुलन कायम राख्न मद्दत गर्छ।
आँखालाई माया गरौं, सावधानी अपनाऔं। गर्मी मौसममा सानो लापरवाहीले आँखामा दीर्घकालीन असर पार्न सक्छ। म एक स्वास्थ्यकर्मीको हैसियतले भन्न सक्छु—समयमै सचेत हुँदा धेरै आँखा रोगहरू रोकथाम गर्न सकिन्छ।आँखा हाम्रो संसार हेर्ने झ्याल हो, त्यसैले यसको हेरचाह गर्नु हाम्रो जिम्मेवारी हो।
📝 लेखक:अनिल साउद
आँखा स्वास्थ्यकर्मी (Eye Health Worker), तिलगंगा आँखा प्रतिष्ठान
स्वास्थ्यसम्बन्धी सल्लाहका लागि सम्पर्क गर्न सक्नुहुन्छ: anilsaud80@gmail.com