आखाको हेरचाह कसरि गर्ने
आँखा हाम्रो शरीरको महत्त्वपूर्ण र संवेदनशील अंग हो। आँखाकै कारण संसार देखिने भएकोले शरीरका अन्य अंगमध्ये यसको अझै बढी महत्त्व छ। आँखामा विभिन्न खाले समस्याहरू देखापर्छन्। त्यसमा पनि गर्मीको समयमा आँखामा बढी समस्या देखा पर्छ। गर्मीमा आँखा पाक्ने, चिलाउने र आखा पोल्ने समस्याले बढी सताउँछ।

आँखामा समस्या आएपछि सुरूमा उपचारको लागि चिकित्सककहाँ नै जानुपर्छ। आँखामा जथाभावी औषधि हाल्नु हुँदैन। आँखालाई असर नहुने औषधिहरू हुन्छन् त्यसको प्रयोग गर्नुपर्छ। उपचारको लागि नेत्र विशेषज्ञकहाँनै जानुपर्छ। बिरामीले पनि आफ्नो उपचारका लागि पहल गर्नुपर्छ। आँखाको सरसफाइमा ध्यान दिनुपर्छ।
आँखामा लागेको कचेराहरू सफा गर्नुपर्छ। आँखालाई हातले छुनुहुँदैन। यदि छोइयो भने साबुन पानीले हात धुनुपर्छ। जो व्यक्तिले आँखामा औषधि हाल्छ उसले पनि हात धुनुपर्छ। बिरामीले प्रयोग गर्ने रूमाल, सुत्ने सिरानी अलग्गै हुनुपर्छ। सानो बच्चा नानी छ भने उसलाई आँखा छोएको हातले चलाउनु हुँदैन।रूमालको भन्दा पनि टिस्यू पेपर र नेपकिनलगायतको प्रयोग गरेर त्यसलाई फाल्नु राम्रो हुन्छ। जसले गर्दा किटाणु आँखामा सर्ने खतरा कम हुन्छ।
