रुपनगरमा निशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर : पहिलो दिन १७९ जनाको शल्यक्रिया सम्पन्न

रुपनगर, माघ २८ – तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा कञ्चनरूप सर्जिकल आँखा केन्द्र, कञ्चनरूप नगरपालिका, तथा कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रको संयुक्त आयोजनामा सुरु भएको निशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर अन्तर्गत पहिलो दिन १७९ जना बिरामीहरूको सफल शल्यक्रिया सम्पन्न भएको छ।

शिविरको उद्घाटन कञ्चनरूप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ताले गर्नुभएको थियो। यसअघि, माघ १० देखि २१ गतेसम्म विभिन्न स्थानमा निशुल्क आँखा परीक्षण तथा मोतिबिन्दु छनोट शिविर सञ्चालन गरिएको थियो।

शल्यक्रिया तिलगंगा आँखा प्रतिष्ठान, गौशालाका नेत्र रोग विशेषज्ञहरूको टोलीद्वारा गरिएको हो। शिविरमा कञ्चनरूप नगरपालिकाका उपमेयर मुना पोखरेल, रुपनगर नन्दराज सङ्ग्रौला क्याम्पसका प्रमुख प्रा. दीपक गजुरेल, चिकित्सक टोली, स्थानीय जनप्रतिनिधिहरू, समाजसेवी, पत्रकार तथा सेवाग्राहीहरूको उपस्थित रहेको थियो।

शिविर अन्तर्गत तीन दिनसम्म शल्यक्रिया जारी रहनेछ, जसबाट पाँच सयभन्दा बढी बिरामीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ। आयोजक संस्थाहरूले यस्ता सेवा कार्यक्रमहरू भविष्यमा पनि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Follow by Email
YouTube