के साच्चै सोचे झै जिन्दगी रैनछ ?

सोचे झै जिन्दगी रहेनछ ।

मलाइ देशको नीतिनिर्माता तहमा काम गर्नेछु भन्ने सानै देखि लागिरहन्थ्यो । उच्च शिक्षा पढेर कम्तिमा कुनै एक कम्पनीकै लागि भए पनि त्यो ज्ञानले एउटा उत्कृष्ट नीति निर्माण गर्नेछु र सन्सार भर मैले निर्माण गरेको प्रणाली लगिनेछ भन्ने सोच्थे । तर परिस्थितिले जिन्दगीलाई अर्कै मोडमा पुर्याइदियो । परिवारको जिम्मेवारीले कुनै न कुनै काममा झुन्डिनुपर्यो । अझै पनि सधै कक्षामा गएर प्रोफेसरहरुबाट संसारका उत्कृष्ट नीति नियमहरु पढ्न मन छ । अनि ती नीति नियमहरुले पारेको प्रभावहरु बारे आफै रिसर्च गर्न मन छ । कुनै दिन पूरा होला नहोला तर …😭😭😭!
कति मान्छे पढेर पनि यसै लखरलखर हिडेको देख्छु ,नीति निर्माण तहमा काम गरिरहेको तर अस्थिर नितिहरु बनाएको देख्छु । ठुला ठुला ओहोदामा बसेका मान्छेहरुको परिवार बिमेल भएर मानसिक तनाव भएको देख्छु । त्यो जिन्दगी भन्दा त मेरै जिन्दगी ठिक छ जस्तो लाग्छ कहिलेकाही त !
मान्छे जति पढे पनि जीवनको उद्देश्य भनेको परिवारलाइ खुसी दिनु हो ,परिवारको भरोसा बन्न सक्नु हो । सोचे झै मैले पढ्न त सकिरहेको छैन तर श्रीमतिले सोचे झै पढन सघाइरहेको छु । बहिनिले देशको राजधानी मै आफुले सोचे झै पढ्न पाइरहेकी छ । आमा बुबाले निर्धक्क भएर समाजमा बस्न सकिरहेका छन । पुरै परिवारले एउटा आशा राख्दै आफ्नो जिविकोपार्जन गरिरहेका छन । सात जना बहिनिहरु भबिस्यमा दादाले हामिलाइ हेर्नेछ ( अभिभावकिय भुमिका निभाउने) भनेर घरको काम गर्दै स्कुल पढिरहेका छन । मैले पढ्न सकिन त के भो परिवारलाइ बिगतको दुखबाट थोरै भए पनि मुक्ती दिए भन्ने लाग्छ । थोरै भए पनि परिवारको आडभार बने भन्ने लाग्छ । मान्छेलाइ खुसी हुन यो भन्दा ठूलो के चाहियो,होइन र ?
तै पनि कहिलेकाही कसैले पढाइ सोध्यो भने के भन्नेहोला भनेर लाज नलागोस भनेर BA भर्ना गरेको छु । परीक्षा दिन मात्र गैरहेको छु । अब केही महिनामा तेस्रो बर्षको परीक्षा दिनेछु ।

पहिले लुगा किन्न घरमा पैसा हुदैन थियो । फाटेकै लुगा लगाएर हिड्थे । एकदिन सात कक्षामा हुदा स्कुलमा पैन्टमा बेल्ट नलगाई गएको थिए । खासमा त्यो बेला बेल्ट नै थिएन म सङ्ग । हेडसरले लाइनको अगाडि बोलाउनुभयो । बसेको ठाउबाट उठनेबेला पैन्टको बटन भाचिएर खुस्क्यो । एकहातले पैन्ट टेक्दै अगाडि गए र थचक्कै बसिदिए । सार्है लाज लाग्यो । त्यो दिन सरले मेरो अवस्था देखेर भबिस्यमा राम्रो बन्नेछौ बिचमै स्कुल नछोड्नु भन्नुभएको थियो । त्यो दिन घर गएर भलिबल खेल्न गए त्यही बाट रुपेशको घर । रुपेश मेरो काकाको छोरा हो । को को साथिहरुले रुपेशको मम्मिलाइ सुनाएछन स्कुलमा भएको घट्ना अनि आन्टिले रुपेशको पैन्ट दिनुभयो । यस्तो अवस्थाबाट अहिले छानिछानी लुगा लगाउने भएको छु । मन लागेको बेला किन्न सक्ने पनि भएको छु ।
आठ कक्षा देखि नै काम गर्न सुरु गरेको यो जिन्दगीलाई परिस्थितिले बाध्यतामा बाच्न बाध्य गराइरह्यो खै कहिले रहरको जिन्दगीमा बाचिएला ।यो प्रश्न को उत्तर नभेटिदै जुनि पो कट्छ कि 🤔

कहिलेकाही एक्लो हुदा सोच्छु काम आखिर कामै हो । जुन कामले परिवार पालिन्छ र जुन कामले धेरै मान्छेलाइ खुसी दिन्छ ,त्यो काम गर्न पाउनु शौभाग्य पनि हो जस्तो लाग्छ । मेरो त कामै कति गज्जबको छ – आँखा कम देखेका मान्छे आउछन तिनिहरुको चस्मा बनाइदिएर लगाइदिन्छु अनि क्षणभरमै आँखा सफा देखेको खुसी पनि महसुस गर्न पाउछु । कहिलेकाही अप्रेसन शिबिरहरुमा हिजो सम्म आँखा नदेखेकाहरुले आज आँखा देखेको प्रत्यक्ष देख्न पाउछौ र खुसिका पलहरु ल्याउने एक सानो हिस्सा आफू पनि हुन पाउँदा आफैलाइ गुड जब अनिल भन्न मन लाग्छ । यसो सम्झिदा तिलगंगाले मलाइ दिए जति के म तिलगंगालाई दिइरहेको छु त भन्ने प्रश्न मनमा उब्जिन्छ अनि आफुले गरिरहेको कर्तव्य अनि जिम्मेवारीहरु सम्झिन्छु र सन्तुष्ट नै हुन्छु । सायद मैले दिन सक्ने दिइरहेकै छु भन्ने आभास भएर पनि होला ।
त्यसो भए के मैले अहिले बाचेको जिन्दगी यथार्थमा जीवनको मूल उद्देश्य प्राप्ति गरेरै बाचेको जिन्दगी हो त ? यो प्रस्न आफैले आफैलाइ गरे । उत्तरमा होइन अझै गर्नु धेरै छ मेरो लक्ष्य एक अझै प्राप्त गरेकै छैन । आफ्नै एक कम्पनी बनाउनुछ । त्यो कम्पनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भएको देख्नुछ । सङ्गै सङ्गै सुखी परिवार बनाउनुछ । तर सामान्य रुपमा जीवनको मूल उद्देश्य प्राप्त गरिसकेको छु । यसरी नै पनि जिन्दगी चलिरहनु पनि सुखद नै मानेको छु । यसकारण जिन्दगीको सुखद पलहरु मैले बाचिरहेको छु । यसो बुझ्दा मान्छेको लक्ष्यहरु समय अनुसार बन्दै जाने र पुर्णतः प्राप्तिको जिन्दगी कसैले नबाच्ने कुरामा कुनै द्विविधा छैन ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Follow by Email
YouTube