आज म मानव सेवा र राष्ट्र सेवाका बारेमा कुरा गर्छु ।

सामान्यतया ‘दिनु’ भन्ने बित्तिकै हामी नगद वा जिन्सी दिने कुरा सम्झन्छौँ । तर संसारका ज्ञानी, दानी र लोक हित गर्नेहरू वा तपाईँ हामी जोसुकैले सरसामानका अतिरिक्त दिनका निमित्त समय, शीप, ज्ञान, श्रम, प्रेरणा, सेवा आदि धेरै कुरा दिन सक्छौँ । जसले जे सक्छ, जुन प्रकारले सक्छ र जति सकिन्छ निस्वार्थ सहयोग गरेर आफ्नो जीवन वा लोकको जीवनलाई अनन्त कालसम्म सहज, सुखी र आनन्दमय बनाउन सक्छौँ ।
दिनको एक घण्टा अरूको सेवामा लगाउनेको संख्या धेरै भयो भने, स-सानो आर्थिक सहयोग गर्नेहरू धेरै भइदिए भने संसार बदल्न पुग्ने श्रम र स्रोत जगेर्ना हुनसक्छ । त्यस्ता सत्प्रयासहरू यो धरामा भैरहेका पनि छन । परोपकार गर्नेहरूको कमी छैन विश्व समाजमा । नेपालमै १०० ग्रुपले गरिराखेको कामदेखि मैले गरिराखेको हरेक शनिबार राष्ट्रका लागि दुई घण्टा योगदान कार्यक्रम उदाहरण हुन्, मानव सेवाको ।
मेरो यो प्रयास देखेर केही व्यक्तिले खेर गैरहेको समय अरूको हितमा लगाइदिए, केही सम्पत्तिवान व्यक्तिहरूले आफ्नो साँघुरो मनलाइ खुकुलो बनाउने उदारता देखाए, केही उद्योगी व्यवसायीले मानव कल्याण सोचेर स्वच्छ सामग्री उत्पादन गरी दिए, राज्यसत्ता र उच्च ओहदामा पुगेकाले आफ्नो स्वार्थ भन्दा माथि उठेर जनकल्याणका पक्षमा चित्त लगाए भने हाम्रो हरेक शनिबार चल्ने राष्ट्रका लागि दुई घण्टा योगदान कार्यक्रमले सार्थकता पाएको ठान्नेछु ।
हरेक शनिबार चल्ने राष्ट्रका लागि दुई घण्टा कार्यक्रम रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १ स्थित देवकोटा चोकको पिपल चौतारीबाट २०७९ मंसीर २४ गते शुरू भएको हो । २०८० सालको मंसीर २८ गते अन्तिम दिन मन्थलीमा राष्ट्रका लागि दुई घण्टा कार्यक्रम सम्पन्न गरेर मन्थली नगरपालिकालाई हस्तान्तरण गरेको थिएँ ।
मन्थलीबाट सरूवा भइ माघ महिनामा सप्तरी आए पनि विभिन्न कारणले तुरून्तै यो कार्यक्रम यहाँ थाल्न सकिएन । हरेक तारतम्य मिलाएर सप्तरी जिल्ला कञ्चनरूप नगरपालिका वडा नम्बर १२ स्थित रूपनगर चोकमा २०८१ बैशाख १ गतेबाट राष्ट्रका लागि दुई घण्टा कार्यक्रम शुरू गरियो । झण्डै ६ महिनादेखि अविच्छिन्न रूपमा निरन्तर चलिरहेको मानव सेवा गर्ने यो कार्यक्रम महेन्द्र राजमार्गको रूपनगर चोकमा रहेको यात्रु प्रतिक्षालयमा हरेक शनिबार बिहान ६ बजेदेखि ८ बजेसम्म निरन्तर चलिरहेको छ ।
यो वर्षको आरम्भसँगै छ महिना अघि शुरू गरिएको राष्ट्रका लागि दुई घण्टा कार्यक्रममा अहिलेसम्म पाँच सय चौवालिस (५४४) जनाले सेवा लिइसक्नु भएको छ । रक्तचाप, मधुमेह र आँखा चाँच गरिने, हरेक हप्ता सञ्चालन भैराखेको यो कार्यक्रमको अहिलेसम्मको तथ्याङ्क केलाउँदा चाख लाग्दो स्थिति देखिन्छ ।
पहाडी जिल्ला रामेछापको मन्थलीमा सञ्चालन गरिएको यस्तै कार्यक्रममा स्वास्थ्य परीक्षण गराउन आउनेहरूको तथ्याङ्क अनुसार त्यहाँ मधुमेह र उच्च रक्तचापको औषधि नियमित खानेको संख्या तराइको तुलनामा थोरै थियो ।
रूपनगरमा मैले दिएको सेवाको छ महिनाको तथ्याङ्कले यहाँका मानिसमा उच्च रक्तचाप, मधुमेह र आँखाका समस्या पहाडमा भन्दा वढी देखायो । पूर्वी तराइको यो गाउँका शनिबार हाम्रोमा जँचाउन आउने मध्ये अधिकांश मानिस मधुमेह र उच्च रक्तचापको औषधि नियमित खान्छन् । हाम्रो कार्यक्रममा स्वास्थ्य जाँच गर्न आएका मध्ये ८० प्रतिशत भन्दा वढी व्यक्तिहरू उच्च रक्तचाप र मधुमेहबाट पीडित छन् भन्छ मैले राखेको अभिलेखले ।
छ महिनाको तथ्याङ्क विश्लेषण गर्दा, बैशाखमा जाँच्दा अनियन्त्रित रहेको सुगरको मात्रा र रक्तचाप निरन्तर जाचाइ रहने सेवाग्राहीहरूमा यो समस्या अलिकता नियन्त्रणमा आएको देखिन्छ । स्वास्थ्य परीक्षण गर्न आउँदा मैले दिएको सल्लाह अनुसार चलेर पनि होला, अधिकांश सेवाग्राहीको रक्तचाप र मधुमेह सामान्य अवस्थामा फर्किएको पाएको छु ।
‘तपाईँको मधुमेह, रक्तचाप ठीक छैन । नियमित औषधि खाएर मात्रै हुँदैन । आफ्नो स्वास्थ्यप्रति अलि धेरै होसियार भएर दैनिकी चलाउनु पर्छ । हैन भने कुनै पनि बेला गाह्रो हुन सक्छ ।’ भन्ने जस्ता चेतावनीयुक्त सुझावले काम गरे जस्तो छ यहाँ ! छ महिना अघि भन्दा अहिले मानिस वढी सचेत भएको पाएको छु, आफ्नो स्वास्थ्य प्रति ।
मर्छु भन्ने डर कसलाई हुँदैन र ! संभवत: यही डरले मानिसलाई सचेत बनाउँदै लगेको छ । समयमा पाइने ठीक जानकारी र सूचनाले सही बाटोमा हिँड्न र सटीक निर्णय गर्न मद्दत पुग्छ । सिङ्गो समाजको स्वास्थ्यका लागि यो सकारात्मक उपलब्धि हो भन्ने ठानेको छु ।
हरेक शनिबार सञ्चालन हुने राष्ट्रका लागि दुई घण्टा कार्यक्रममा मधुमेह र रक्तचाप मात्रै जाँचिदैन, आँखा परिक्षण पनि गरिन्छ । कसैको आँखामा कुनै समस्या देखियो भने उचित सल्लाह सहित आँखा अस्पताल जान सहयोग गर्छौँ ।
विभिन्न स्वास्थ्य समस्या भएर अस्पतालमा वा डाक्टरलाई जँचाएको पूर्जा देखाएर ‘के लेखेको छ?’ भनी सल्लाह लिन आउने पनि हुन्छन । सकेको जानेको सल्लाह दिएर हामीले परामर्शदाताको काम पनि गरेका छौँ ।
यसरी समाजमा सकारात्मक सोचको बीऊ रोपिएको छ । सकारात्मकता फैलाउने अभियान पनि हो यो । एकले अर्कालाई सकेको सहयोग गर्नुपर्छ भन्ने उदाहरण बनेर समाजलाई जागृत गराउने अभियान पनि हो ।
यो अभियानको बीऊ रोप्न सहयोग गर्ने मन्थलीका बिपिन भट्टराई दाइलाई सम्झन चाहन्छु । अनि मन्थली नगरपालिकाका मेयर र स्वास्थ्य शाखा प्रमुख केशब फुयाल सरलाई पनि सम्झिरहनेछु । सहयोगी मनका धनी सबै आत्मीय मित्रहरूलाई धन्यवाद छ ।
रामेछापको पहाड कन्दराबाट मधेश झरेर रूपनगर आए पछि रूपनगरमा पनि राष्ट्रका लागि दुई घण्टा कार्यक्रम शुरू गर्दैछु भनेर दीपक गजुरेल सरलाई भनेँ । रूपनगर क्याम्पसका प्रमुख प्राध्यापक गजुरेलले खुशी हुँदै हौसला सहित आर्थिक सहयोग पनि गर्नुभयो । उहाँले दिनु भएको हौसलाले थप उत्साहका साथ रूपनगरमा कार्यक्रम शुरु गरियो, २०८१ नयाँ वर्षको दिन ।
फेसबूकमै पोस्ट गरेको आधारलाई विश्वास गरी सहयोग गर्ने दानीहरू सबैलाई एकमुष्ट धन्यवाद । यहाँ नियमित जाँच्न आउनु हुनेहरूको आशीर्वादले तपाईँहरुको जिन्दगी सुखमय रहोस भनी कामना गर्दछु ।
अहिले राष्ट्रका लागि दुई घण्टा कार्यक्रमलाई सहयोग पुग्ने गरी, समाज सेवामा मद्दत पनि पुग्ने र डिभी पनि भरिने अभियान थालेका छौँ । अमेरिकाको स्थायी भिसा पाइने EDV 2026 को अनलाइन फर्म भरिदिन्छौँ, आउनुस् । त्यो फारम भरिदिए वापत १०० रूपिञा माग्छौँ । त्यसरी तपाईँले दिनु हुने पैसा राष्ट्रका लागि दुई घण्टा कार्यक्रमका लागि चाहिने रक्तचाप जाँच्ने मसिन र सुगर जाँच्ने Test kit किन्नेछौँ ।
सुगर जाँच गर्ने किट अब एक महिनालाई धान्ने मात्रै बाँकी रहेकोले डिभी भरे वापत पैसा लिनु हाम्रो लागि बाध्यता हो, बुझिदिनु होला । तपाईँले गर्नुभएको सहयोगले कसैको जीवनलाई सहज बनाउन मद्दत मिल्नेछ ।
सबै जनालाई धन्यवाद
अनि,
दशैँ, तिहार तथा छठ पर्वको हार्दिक शुभकामना ।
EDV lottery 2026 form सम्पर्क Whatsapp ९८६३४६९८६४(Anil Saud)