
निजगढ, बारा 2082/06/04
तिलगंगा आँखा अस्पतालद्वारा आयोजित मोतिबिन्दु शल्यक्रिया शिबिर मिति २०८२ असोज १ गतेदेखि ३ गतेसम्म निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल, निजगढ, बारामा सम्पन्न भएको छ।
शिबिरमा बारा र रौतहट जिल्लाका विभिन्न स्थानीय तहसँगको सहकार्यमा आयोजित मोतिबिन्दु छनोट शिबिरमार्फत गाउँगाउँबाट आएका बिरामीहरूको निःशुल्क अपरेशन गरिएको थियो। दृष्टि कमजोर भएकादेखि आँखा नै नदेख्ने अवस्थासम्म पुगेका ३४५ जनाको मोतिबिन्दुको सफल शल्यक्रिया सम्पन्न गरिएको छ।
शल्यक्रिया कार्यक्रम डा. सागर रुइतको नेतृत्वमा पाँच जना विशेषज्ञ चिकित्सकहरूको टोलीले सम्पन्न गरेको हो।
शिबिरका क्रममा बिरामीहरूलाई जाउलोको व्यवस्थामा प्रभु बैंकले आफ्नो सामाजिक संस्थागत उत्तरदायित्व कार्यक्रमअन्तर्गत सहयोग गरेको आयोजकले जनाएका छन्।
अपरेशनपछि आफ्ना आँखा खुलेको अनुभव सुनाउँदै बिरामी महेन्द्र कुमार सोनीले भने,
“धेरै समयदेखि अँध्यारोमा बाँचेजस्तो लाग्थ्यो। अब फेरि स्पष्ट देख्न पाउँदा नयाँ जीवन पाएजस्तो महसुस भएको छ।”
त्यस्तै, अस्पताल इन्चार्ज दीपक सुवेदीले मधेस प्रदेशका बारा, रौतहटलगायत क्षेत्रमा मोतिबिन्दु धेरै हुने तर आर्थिक अभावका कारण उपचार गर्न नसक्ने भएकाले धेरैलाई अँध्यारोमै बाँच्नुपर्ने अवस्था आएको बताए। उनले यस्तो अवस्था मध्यनजर गर्दै निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले नियमित रूपमा निःशुल्क शल्यक्रिया शिबिर सञ्चालन गर्दै आएको जानकारी दिए।
यसैगरी, शिबिरको सफलता दिलाउन स्वयंसेवकहरूको सक्रियता उल्लेखनीय रह्यो। ‘राष्ट्रका लागि योगदान संस्था’ले शिबिरभरि हातेमालो गर्दै महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।
