Mahakali Optical and Care Center

आँखाको सुरक्षा र चश्माको महत्व

आँखाको सुरक्षा र चश्माको महत्व

आँखा मानव शरीरको सबैभन्दा संवेदनशील र महत्वपूर्ण अंग हो। हाम्रो दैनिक जीवनका हरेक क्रियाकलाप आँखाको सहायताबिना कल्पना गर्न गाह्रो छ। तर, आजको डिजिटल युगमा आँखाको स्वास्थ्यप्रति हाम्रो ध्यान कमजोर हुँदै गएको देखिन्छ। लामो समयसम्म मोबाइल, कम्प्युटर, र टिभी स्क्रिनमा टोलाउनु, प्रदूषित वातावरणमा धेरै समय बिताउनु, र आँखाको नियमित जाँच नगर्नुजस्ता कारणले दृष्टि सम्बन्धी समस्या तीव्र रूपमा बढिरहेका छन्।

चश्मा केवल दृष्टि सुधारको उपकरण मात्र होइन, यो आँखाको सुरक्षा कवच पनि हो। सही चश्माको प्रयोगले दृष्टि समस्या सुधार गर्नुका साथै आँखालाई पराबैजनी किरण (UV Rays), धूलो, धुवाँ, र डिजिटल उपकरणबाट निस्किने नीलो प्रकाश (Blue Light) बाट सुरक्षित राख्छ। तर, हाम्रो समाजमा अझै पनि चश्मा लगाउने कुरालाई कमजोरीको रूपमा लिने मानसिकता रहँदै आएको छ, जुन गलत हो।

आजको समयमा बालबालिकादेखि वृद्धवृद्धासम्म, हरेक उमेर समूहका व्यक्तिहरूले आँखाको नियमित परीक्षण गर्नुपर्छ। चश्माको आवश्यकता परेमा, सही नम्बर र गुणस्तरीय लेन्स भएको चश्माको प्रयोग गर्नुपर्छ। बजारमा पाइने सस्ता र अवैज्ञानिक चश्माले दृष्टि सुधार गर्नुको सट्टा थप समस्या निम्त्याउन सक्छ। त्यसैले, चश्मा खरिद गर्दा प्रमाणित र अनुभवी अप्टिकल व्यवसायीबाट मात्र खरिद गर्नुपर्छ।

यस क्षेत्रमा सरकारले पनि आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुपर्छ। गाउँ–सहर सबै ठाउँमा दृष्टि परीक्षणका कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ। विद्यालय तहदेखि नै विद्यार्थीहरूलाई आँखाको स्वास्थ्य सम्बन्धी जानकारी दिनुपर्छ। साथै, सहुलियत दरमा चश्मा उपलब्ध गराउन आवश्यक छ, ताकि आर्थिक अभावका कारण कसैले पनि चश्मा नलगाउने स्थिति सिर्जना नहोस्।

नेपालमा दृष्टि परीक्षण र चश्मा पहुँचलाई अझ सुलभ बनाउन सरकारी तथा गैरसरकारी क्षेत्रले सँगसँगै काम गर्नुपर्ने आवश्यकता छ। जनचेतना कार्यक्रमहरू, विद्यालयस्तरीय आँखाको परीक्षण, र सहुलियत दरमा चश्मा वितरणले दृष्टि समस्याको रोकथाम गर्न सकिन्छ।

आँखा हाम्रो अमूल्य सम्पत्ति हो। यसको सुरक्षा हाम्रो व्यक्तिगत जिम्मेवारी मात्र होइन, सामाजिक उत्तरदायित्व पनि हो। समयमै आँखाको परीक्षण गरौं, सही चश्मा प्रयोग गरौं, र आँखा सम्बन्धी समस्याहरूलाई गम्भीर हुन नदिऔं।

स्वस्थ दृष्टि, उज्यालो भविष्य।

Exit mobile version